मलेखु-मुग्लिन सडकको विस्तारको काम सुस्त, १ वर्षमा ६ प्रतिशत मात्र प्रगति

काठमाडौं । मलेखु-मुग्लिन सडक खण्डको विस्तार र स्तरोन्नतिको काम सुस्त भएको छ । सडक विस्तार थालिएको १ वर्षमा जम्मा ६ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो ।

नक्साङ्कन परिवर्तनमा हिउँद बितेको, वर्षातमा काम गर्न नसकिएको र त्यसपछि चाडपर्वले काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ । एक वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै छ महिना लागेको उनले जानकारी दिए ।

आचार्यका अनुसार अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ । यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटा पुलको काम भइरहेको उनले बताए । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुन सकेको छैन । अन्य दुई पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैङ्कको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले रु ४ अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा डेडिकेटेड दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाइ ७ मिटर छ । अब सडक कम्तीमा ९ मिटर चौडाइको बन्ने आचार्यले बताए ।

बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.१५ किलोमिटर सडक चार लेनको बन्नेछ । चार लेन सडक १४ मिटर फरकिलो हुन्छ । उकालोमा सडक तीन लेनको बनाइने छ र यो १०.५ मिटर फराकिलो हुनेछ ।

त्यस्तै तीन लेनको बन्ने उकालो सडक तीन किलोमिटर छ । सडकको स्तरोन्नतिका लागि रूख काट्न वन विभागको कोषमा पैसा पठाइँदैछ भने विजुलीका पोल सार्ने प्रक्रिया अघि बढाइएको छ । गएको एक वर्ष ढिलाइ भएको भए पनि अब कामले गति लिने आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here