‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गरेका छन्।

युगान्डा भ्रमणपछि आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्।

रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी पनि प्रधानमन्त्रीले गरे। ‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ। रुस-युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’

सकभर रूसी सेनामा नजाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। “हाम्रो देशको सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिंदैन,” प्रधानमन्त्री दाहालले भने, “जहाँ पायो, त्यही जागीर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने। अझ बाटो छलेर जाने यो तरीका भएन।”

तथापि, रूसी सेनामा रहेका नेपाली युवालाई फर्काउन पहल भइरहेको उनको भनाइ थियो। रूस र युक्रेन दुवै देशसँग कुराकानी भइरहेको दाहालले बताए।

यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाइसकेको प्रधानमन्त्री दाहालले जानकारी दिए। युगान्डामा रूसका विदेशमन्त्रीसँगको कुराकानीमा रूसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्तिका लागि पनि कुराकानी भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here