भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? आजदेखि चाहिन्छ यी कागजपत्र

काठमाडौं । अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि लागू हुनेगरी थप कडाइ गरेको छ। भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको हो।

विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो।

नयाँ व्यवस्था अनुसार अब भिजिट भिसामा विदेश जानेले तोकिएकै समयमै स्वदेश फर्किन्छु भनेर स्वःघोषणा गर्नुपर्ने छ । यसअघि भिजिट भिसामा गएकाहरु उतै लुकेर बस्न थालेपछि विभागले विदेश जानेले अनिवार्य फर्किन्छु भनेर स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्केने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वस्घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।’

भोलि (माघ १० गते)देखि लागू हुने नयाँ व्यवस्था अनुसार अब विदेश जाँदा अनिवार्य रुपमा ६ थरी कागजात पुर्याउनुपर्नेछ । भिजिट भिसामा जान चाहनेले कम्तीम ६ महिना वैध अवधि भएको राहदानी आवश्यक पर्नेछ । सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने विभागले जनाएको छ ।

त्यसैगरी, भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य गरिएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ ।

भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here