कृषिमा फड्को मार्दै मकवानपुरगढी

मकवानपुर, २९ भदौ । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ ।

विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका कृषिमार्फत मात्रै समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाइँले जानकारी दिए ।

‘हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा सोरोजगार समेतको सृजना गर्ने अभियानमा छौँ,’ उनले भने । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिरहेको उनले जानकारी दिए।

व्यावसायिक दूध उत्पादन पकेट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ ।

जुन यहाँको कूल उत्पादनको आधाभन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउँछन् । सहकारीमार्फत सङ्कलन हुने दूधबाट मात्रै गाउँपालिकामा मासिक एक करोड ५५ लाख रुपैयाँ भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिए ।

उक्त गाउँपालिकामा हाल ३० ठूलठूला गाईपालन केन्द्र सञ्चालित रहेका जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्यधिक रहेका तर, उनीहरुको अभिलेख नभएको बुझिएको छ ।

गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् ।

राज्मा, बोडी, मास, सिमी र भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here