पाकिस्तानले आकास बन्द गरिदिएपछि डुब्दैछ एयर इण्डिया, एक वर्षमै १ खर्ब ३४ अर्ब रुपैयाँ घाटा

फाइल तस्वीर

नयाँ दिल्ली, ३० भदौ । भारतको सरकारी वायुसेवा कम्पनी एयर इण्डियाले एक वर्षमै १ खर्ब ३४ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार एक वर्षको अवधिमा यो कम्पनीले ८४०० करोड भारु (झण्डै १ खर्ब ३४ अर्ब रुपैयाँ) घाटा बेहोरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

एयर इण्डियाले एक वर्षमा बेहोरेको घाटाबाट मात्र एक शक्तिशाली नयाँ वायुसेवा कम्पनी स्थापना गर्न सकिने समेत संचारमाध्यमले उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०१८\१९ मा एयर इण्डियाले यो घाटा बेहोरेको हो । लामो अवधिका ऋणमा डुबेको कम्पनीले अपेक्षित नाफा समेत गर्न नसकेपछि भारी घाटामा बेहोर्न बाध्य भएको हो ।

त्यसमाथि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा पनि यस कम्पनीको घाटा ह्वात्तै बढेको बताइएको छ । यस कम्पनीले एक वर्षको अवधिमा २६४०० करोड भारु आम्दानी गरेको थियो ।

यस क्रममा कम्पनीले ४६०० करोड भारु अपरेटिंग घाटा बेहोर्नु परेको थियो । त्यसमाथि भारतका लागि पाकिस्तानले गरेको एयरस्पेस बन्द र बढ्दो तेलको भाउले समेत यस कम्पनीको घाटामा महत्वपूर्ण भूमिका खेलेको छ ।

कम्पनीले अहिले पनि दैनिक ३ देखि ४ करोड घाटामा व्यापार संचालन गरिरहेको छ । पछिल्लो समय भारतले एयरस्पेस बन्द गरेयता मात्र २०० करोड भारु संचालन खर्च घाटामा गइसकेको छ ।

पाकिस्तानले यसअघि फेब्रुअरीमा बालाकोट हमलापछि उत्पन्न विवाद लगत्तै तीन महिना एयरस्पेस बन्द गरिदिएको थियो । त्यसपछि खुलेको एयरस्पेस पुनः कश्मीर काण्डपछि बन्द भएको हो ।

अहिलेसम्म भारतीय एयरस्पेस बन्द भएकै कारण करीव ८ अर्ब रुपैयाँ घाटा भइसकेको कम्पनीलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । पाकिस्तानले एयर स्पेस बन्द गरेपछि सबै भारतीय कम्पनीहरु घाटामा चलिरहेका छन् ।

स्पाइसजेट, इन्डिगो तथा गो एयरलाई समेत क्रमशः ३१ करोड, २५ करोड र २ करोड भारु संचालन घाटा भइसकेको बताइएको छ ।

एयर इण्डियाले अहिले संसारका ४१ र आन्तरिक ७२ विमानस्थलमा उडान बिस्तार गरिसकेको छ । चालु आर्थिक वर्षमा कम्पनी नाफामा जाने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् ।

खासगरी कम्पनीको मुनाफा यात्रुको भरोसा र डलरको भाउमा निर्भर रहने उनीहरुको भनाई छ । अहिले यो कम्पनी ५ खर्ब ८० अर्ब भारु ऋणमा छ । यो ऋण चुक्ता गर्न कम्पनीलाई निकै ठूलो समस्या आइपरेको छ ।

यो कम्पनीको सुधारमा भारतीय सरकारले अनेक प्रयास गरेपनि सफल हुन सकेको छैन ।

भारतीय राष्ट्रिय ध्वजाबाहकजस्तै नेपाल एयरलाइन्सले पनि बेलैमा ध्यान दिन नसक्ने हो भने निकट भविश्यमा ठूलो संकट नआउला भन्न सकिन्न । किनकी नेपाल एयरलाएन्स पनि अहिले करीव ४० अर्ब ऋणमा डुबिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here