मौसममा बदली: कतै हिमपात, काठमाडौंमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

काठमाडौं उपत्यकामा पनि बादल लाग्न थालिसकेको तथा बिहीबार काठमाडौंमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट वर्षा हुन सक्ने पनि उनले बताइन्।

आज दिउसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । मधेश प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।