शिक्षामन्त्री पोखरेल र जापानी राजदूतबीच भेटवार्ता

१९ कात्तिक, काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रको सहकार्य समीक्षा र आगामी रणनीतिबारे छलफल भएको हो। भेटका क्रममा जापानी राजदूत तोरुले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीको क्षतिप्रति समवेदना व्यक्त गर्दै जापान सरकारका तर्फबाट उपलब्ध गराइएको आपत्कालीन सहयोग प्याकेजबारे जानकारी गराए ।

मन्त्री पोखरेलले नेपालको शैक्षिक र भौतिक पूर्वाधार विकासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे । छलफलका क्रममा जापानी राजदूतले जापानको अनुभवका आधारमा विद्यालय पाठ्यक्रममै विपद् व्यवस्थापन र सुरक्षा सम्बन्धी विषय समावेश गर्न सुझाव दिए । प्रत्युत्तरमा मन्त्री पोखरेलले हाल राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन भइरहेकाले पाठ्यक्रममा विपद् व्यवस्थापन र शिक्षकको पेसागत विकासका विषय समावेश गरिने बताए ।

साथै, शिक्षा क्षेत्रको सुधारका लागि दीर्घकालीन दृष्टिकोण आवश्यक पर्नेमा जोड दिँदै दुवै पक्षबीच आगामी दिनमा थप छलफल र उच्चस्तरीय भ्रमणमार्फत सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा विचार आदानप्रदान भएको छ।