नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रदै नेपाल, फराकिलो जित आवश्यक

काठमाडौं । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।

श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ ।

नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ । नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ ।

यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नु पूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

नेपालले नेदरल्याण्ड्ससँग झिनो हार बेहोरेको खण्डमा आइतबारको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि फराकिलो जित निकाल्दा पनि नेपाल फाइनलमा पुग्न सक्छ ।

तर नेपालले आजको खेलमा नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गर्दा नेपालको रन रेट मजबुद हुँदा स्वतः फाइनलमा पुग्नेछ ।

यो महत्वपूर्ण खेल आज बिहान ११ः३० बजे कीर्तिपुर मैदानमा शुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here