२५ असोज, काठमाडौं । चुमनुब्री गाउँपालिका वडा नं। ६, चुम्चेतका वडा सदस्यबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार विङ्गिलुङ खोलामा सुरु भएको बाढी श्यार खोला हुँदै बुढीगण्डकी नदीमा मिसिएको थियो। बाढीका कारण नदी आसपासका बस्ती, पदमार्ग, पुल तथा अन्य संरचनामा क्षति पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
१. प्रारम्भिक क्षतिको विवरण
विङ्गिलुङ खोला क्षेत्र : उक्त क्षेत्रमा स्थानीय गोठाला तथा पशुचौपाया राख्ने गोठहरू रहेको र कम्तीमा पाँच जना गोठाला त्यहाँ रहेको जानकारी प्राप्त भएको छ। उनीहरूसँग सम्पर्क हुन नसकेकाले हालको अवस्था यकिन हुन सकेको छैन।
नाक्चेत : फिलिम जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ।
सल्लेरी : सल्लेरी जलविद्युत् आयोजनाको क्याम्प साइट र स्थानीयका घरहरू पूर्ण रूपमा बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जगत बगर : बाढीका कारण उक्त क्षेत्र प्रभावित भई बगाएको जानकारी प्राप्त भएको छ।
पदमार्ग : जगत जाने तथा सल्लेरी क्षेत्रका पदमार्गहरू क्षतिग्रस्त भएका छन्। यारु बगरदेखि जगतसम्मको पदमार्ग बगाएको छ भने लोक्पाभन्दा माथि चुम उपत्यका जाने पदमार्ग अवरुद्ध भएको छ।
२. मानवीय अवस्था तथा सुरक्षा
प्रारम्भिक जानकारी प्राप्त हुँदासम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन। जगत चेकपोस्ट बाढीबाट प्रभावित नभएको र त्यहाँ रहेका पर्यटक, स्थानीय बासिन्दा तथा कर्मचारीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। यद्यपि, विङ्गिलुङ खोला क्षेत्रमा रहेका गोठाला तथा उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्न आवश्यक छ।
३. निष्कर्ष तथा आवश्यक कार्य
बुढीगण्डकी नदीमा आएको बाढीबाट विभिन्न स्थानका पुल, पदमार्ग, जलविद्युत् आयोजनाको क्याम्प साइट तथा अन्य संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनाको वास्तविक क्षतिको विवरण तथा सम्भावित जोखिम यकिन गर्न सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय गरी तत्काल स्थलगत अनुगमन तथा खोजीकार्य आवश्यक देखिन्छ।
नोटस् यो प्रतिवेदन वडा सदस्यबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा तयार गरिएको हो। घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन तथ्याङ्क स्थलगत अनुगमन र थप जानकारी प्राप्त भएपछि अद्यावधिक गरिने आयोजनाले जनाएको छ ।
