१८ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।

चैत ६ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ।

त्यस्तै, १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । यो ट्रेजरी २०८१ असोज १ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ४ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।