नेपालमै उत्पादित हाइड्रोजनबाट गुड्यो कार

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै उत्पादित हाइड्रोजनबाट कार गुडाएको छ ।

आइतबार विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबले उत्पादन गरेको हाइड्रोजन गाडीमा हालेर सफल परीक्षण गरेको हो ।

केयूले नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगको अध्ययन गर्न गत कात्तिकमा दक्षिण कोरियाबाट हाइड्रोजन कार ल्याएको थियो । आज सोही कारमा विश्वविद्यालय आफैंले स्थापना गरेको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन कारमा राखिएको हो ।

स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो । नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले हाइड्रोजन कारको परीक्षण सफल भएको जानकारी दिए ।

उनले सामाजिक संजाल फेसबुकमा एउटा भिडिओ सेयर गर्दै भनेका छन्, ‘आज नेपालको लागि हाइड्रोजन दिवस हो। मेरो टिमप्रति मलाई गर्व लागेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here