म्यूनिख एयरपोर्टलाई भैरहवा विमानस्थल व्यवस्थापन जिम्मा दिने तयारी

काठमाडौं, ४ असोज । सरकारले जर्मनीको म्यूनिख एयरपोर्टलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थल व्यवस्थापनको जिम्मा लगाउने तयारी गरेको छ ।

सरकारले जीटूजी सम्झौता गरी यो विमानस्थल संचालनको जिम्मा विदेशी कम्पनीलाई दिने घोषणा गरेको थियो । सोही अनुसार राजदूतावासमार्फत सरकारले प्रस्ताव मागेको थियो ।

सरकारले मागेको प्रस्तावहरुमध्ये म्यूनिख विमानस्थलबाट ठोस प्रस्ताव आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

‘उसको प्रस्तावका विषयमा छलफल भइरहेको छ, हामी सम्भवतः टुगोमा पुग्छौं,’ उनले भने । मन्त्री भट्टराईका अनुसार यो विमानस्थलको भौतिक संरचना निर्माणको काम अब अन्तिम चरणमा छ ।

आगामी मार्च महिनासम्म पूर्ण रुपमा विमानस्थल संचालनको अवस्था आउँछ । त्यसकारण व्यवस्थापकीय कामलाई पनि संगै अगाडी लैजान खोजिएको हो ।

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको भन्दै उनले पोखरा विमानस्थल पनि निर्धारित समयभन्दा ६ महिना अगाडी अर्थातः डिसेम्बर २०२० भित्रै सम्पन्न गर्ने लक्ष्यका काम भइरहेको छ ।

शनिबार संचारकर्मीहरुसँगको भेटमा मन्त्री भट्टराईले भ्रमण वर्षको जिम्मेवारी पुरा गर्न नसक्ने भए नेतृत्व छाड्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरे ।

तपाईलाई दिएको जिम्मेवारी पुरा गर्न सक्नु हुन्न भने पद छाडिदिनुस, तर लक्ष्यमा तलमाथि हुने कुरै छैन,’उनले भने ।

मन्त्री भट्टराईका अनुसार नेपाल एयरलाइन्समा पनि आमूल परिवर्तनको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here