पुरानै लयमा फर्कँदै तातोपानी नाका, सडक मर्मत नहुँदा सबै चिन्तित

सिन्धुपाल्चोक । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा बुधबार तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ ।

सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन तथा चुनौतीबारे छलफल भएको हो ।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानवसहित दोहोरो आवतजावत खुलेको नाकाको सञ्चालन र चुनौतीबारे पूर्वबजेट छलफल तथा वर्षात्को समय सुरु हुन लागेकाले छलफल राखिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डीपीआरअनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताए ।

चीनले नेपालले तयार गरेको डीपीआरअनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उनको भनाइ छ । सडक स्तरोन्नति, नाकामा अध्यागमनसहितको एकीकृत भवन, नेपालतर्पm स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकारी दिए ।

जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिँदै उनले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रबिसे क्षेत्रमा सडक सञ्चालन गर्ने साधन तयारी अवस्थामा राख्न निर्देश गरे। सांसद सापकोटाले सडक विभागका अधिकारीलाई तत्कालीन र दीर्घकालीन प्राथमिकताअनुसार काम गर्न सुझाव दिए ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताए । अर्बौंको राजस्व उठाउने तातोपानी नाकालाई राज्यले गाईको दूध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गरे । उनले आगामी वर्षसम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष शेर्पाले राजस्व उठेअनुसार राज्यले तातोपानी नाकालाई विशेष ध्यान दिनुपर्ने माग गरे । उनले भन्सार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा अप्ठ्यारो अवस्था रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले नाका क्षेत्रमा क्रमिक सुधार भए पनि धेरै काम हुन बाँकी रहेको बताए। बाटोलाई प्राथमिकता दिने सवालमा सबैको एकमत रहेको बताउँदै आचार्यले सङ्घीय सरकारले बजेट निर्माण गर्दा सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश्वर पोखरेलले जनशक्ति र स्रोतसाधनको अभावकाबीच नाकाक्षेत्रमा सुरक्षा दिइरहेको जानकारी दिए। भोटेकोसी गाउँपालिकामा नौ वटा सीमा पिल्लर रहेकामा बोक्चेन क्षेत्रमा ५४.२ नं को पिल्लरको सुरक्षा एवं २०७१ सालमा भोटेकोसी बाढीले बगाएको ५४.३ नं को सीमा पिल्लर राख्नुपर्ने आवश्यकता औँल्याए।

तातोपानी भन्सार प्रमुख दयानन्द केसीले भन्सारले तोकिएको लक्ष्यअनुसार रु ८ अर्ब राजस्व उठिसकेको जानकारी दिँदै यस वर्ष रु १२ अर्ब राजस्व उठ्ने विश्वास व्यक्त गरे ।

नाका सञ्चालन भएपछि व्यापार, राजस्व, मानिसको आवतजावत बढिरहेको केसीले बताए । आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको केसीको भनाइ छ । उनले भन्सार पुरानै लयमा फर्किए पनि सडक र पूर्वाधारका कारण चुनौती कायम रहेको बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here