स्याफ्रुबेँसीमा बनाइयो काठे पुल, आवतजावत सहज

रसुवा, २३ कात्तिक । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो ।

नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा उक्त काठेपुल निर्माण गरिएको हो ।

यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । लामो समयसम्म यातायात र पैदलमार्गसमेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५)का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए ।

बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुलसमेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो । हाल संयुक्त प्रयासमा काठेपुल पुनः खडा गरिएपछि दुवै गाउँपालिकाका बासिन्दा तथा सो क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई पैदल आवतजावतका लागि निकै राहत मिलेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)ले जानकारी दिए ।