काठमाडौं, ५ असोज । चार वर्षअघि पहिरोले क्षति पु¥याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ ।
विसं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युतगृहमा क्षति पुगेपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।
विसं २०७५ चैतदेखि शुरु भएको पुनःनिर्माण सकिएपछि भदौ अन्तिम हप्तादेखि बिजुली बलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।
‘बाँध, नहर, विद्युत्गृह नयाँ ठाउँमा बनाइएको छ”, उपाध्यक्ष छन्त्यालले भने, ‘पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ, मुख्य र वितरण लाइनको तार पुरानै हो ।’
परियोजना पुनःनिर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८६ लाख, गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका थिए । कूल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ ।
उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरिया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएका जानकारी दिए ।
लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । ‘ठूलो सङ्घर्ष, श्रम र अथक प्रयासपछि बिजुली बाल्न सफल भयौँ’, अध्यक्ष पुर्जाले भने ‘परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको छ ।’
खबाङको दोभानमा बाँध रहेको परियोजनामा ७२५ मिटर लामो पाइपलाइनमार्फतमा ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ ।
मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृह बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए ।
तत्कालै केन्द्रीय लाइनको विद्युत् पु¥याउन सम्भव नदेखिएकाले लघुजलविद्युत् बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।
‘यो गाउँपालिकाको गौरवको आयोजना हो’, उनले भने, ‘भविष्यमा केन्द्रीय प्रसारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युत्का पोल राखेका छौँ ।’
उज्यालोका लागि सौर्यबत्ती र टुकी बाल्नुपर्ने अवस्था हटेको स्थानीयवासी टेकलाल रसाइलीले बताए ।
घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएका छन् । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । (रासस)