इलाममा साढे १० बजेसम्म २० प्रतिशत मतदान

काठमाडौं । इलाममा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा अहिलेसम्म बीस प्रतिशत मतदान भएको छ । सबै मतदान स्थल र मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको पनि उनले जानकारी दिए। सबै मतदान केन्द्रहरूमा तोकिएकै समय बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रजिअ यादवले बताए।

इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्। यसपालि इलाममा ४२२ जना मतदाता थपिएका छन्। इलाम(२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएको छ। यहाँ विभिन्न दल र स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दिएका छन्। लाममा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन्। उनी संविधान सभाका अध्यक्ष दिवंगत सुवास नेम्बाङका छोरा हुन्। उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ।

त्यस्तै नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशम बहादुर सुनार उम्मेदवार छन्।

नेसनल रिपब्लिक नेपालबाट धनराज रानामगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह उम्मेदवार छन्। यहाँ सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। अर्जुन बहादुर शाही, डेकेन्द्रसिंह लिम्बू, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरूङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। इलाम(२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएको छ।

इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील छन्। यस आधारमा इलाममा ४७२ जना प्रहरी सामान्य मतदानस्थलमा, २८९ प्रहरी संवेदनशील मतदानस्थलमा र ३१८ जना अति संवेदनशील मतदानस्थलमा खटिएका छन्। त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिएका छन्। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here