४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा, खेतानलाई १० लाख जरिवाना

काठमाडौं । आफ्नो निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ।

राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मीसनराइज बैंक छन् । बाँकी दुई वटा लुम्बिनी विकास बैंक र एक्सल डेभलपभेष्ट बैंक हुन् ।

लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

त्यस्तै, कुमारी बैंकले जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ विपरीत ब्याज अनुदान दिएकोले सञ्चालक समिति र सीईओलाई सचेत गराइएको छ ।

साथै, बैंकका सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेकोले संचालक समितिलाई सचेत गराएको छ ।

साथै, ३५ दिनभित्र उक्त रकम असुलउपर गर्न निर्देशन दिइएकोमा सो रकम असुलउपर भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, इन्भेष्टमेन्ट मेगाले कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र कालिमाटी शाखाले कन्फर्म गरी सो प्रतीतपत्र अन्तर्गत भएको कारोबारमा निवेदक कम्पनीबाट प्रोमीसरी नोट जारी गरी ४१.६३ करोड कर्जा बराबरको बिल पर्चेज गरेको, प्रतीतपत्रको म्याद थप गरी इभरग्रीन गरी असल कर्जामा देखाइ पूँजीकोष गणना गरेको भन्दै कारबाही गरेको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकले ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । एक्सल डेभलपमेन्ट बैंकले एकीकृत निर्देशन परिपालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here