काठमाडौं । बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।
सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जाँै र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो ।
यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ ।
यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख छ ।
पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।