सफ्टवेयर र उपकरण किन्दा पौने ४१ करोड ‘भ्रष्टाचार’, पूर्व कार्यकारी निर्देशक पौडेलसहित ६ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना विरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सुरक्षण मुद्रणका निम्ति सफ्टवेयर र उपकरण खरिद गर्दा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार गरेको रकम सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले सिंगापुरमा रहेको आफ्नो एकल बैंक खाता र श्रीमतीको अमेरिकामा रहेको संयुक्त बैंक खातामा जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।

आयोगले केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल, पूर्व निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका पूर्व सीडीई नवीनकुमार पोखरेल र सामान आपूर्तिकर्ता म्याम्स इन्टरन्याशनल प्रालिका सीईओ अकबर हुसेनलाई विपक्षी बनाएको छ।

त्यस्तै, अख्तियारले मुद्रण केन्द्रका पूर्व लेखा अधिकृत खड्कबहादुर थापा र पूर्व शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई पनि विपक्षी बनाएको छ। उनीहरू पनि शुरूदेखि नै यसमा संलग्न रहेको अख्यितारले जनाएको छ।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध अर्को मुद्दासमेत चलिरहेको छ । पौडेल अहिले विशेष अदालतकै हिरासतमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here