निगमको सेवालाई थप चुस्त बनाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे । ‘निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु । तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला । ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला,’ उनले भने ।

त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०/८१ को समीक्षा र आगामी आव २०८१/८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गरेको निगमले जनाएको छ ।

बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए भने बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here