काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका- ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले बताएको छ ।
छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ ।
सोमबार बिहान १० बजेतिर कृष्ण नगरकोटीले छोरा रिचेन नगरकोटीलाई २ वटा ब्लेड र १ सय २५ रुपैयाँ गाडी भाडा दिएर पठाएका थिए । उनले कतै नजिकै जङ्गलमा गएर मर्दा उपयुक्त हुने भन्दै दुरुत्साहन गरेका थिए ।
सोमबार बिहान उनीहरु सेतोपुलमा थिए । कोठाभाडा तिर्न नसकी उनीहरु तीन महिनायता ट्याक्सीमै बस्थे । बाहिर किनेर खान्थे, ट्याक्सीमै सुत्थे । कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो बिवाह गरेको पाइएको छ । सोमबार कृष्णको ट्याक्सी बिग्रियो । उनीहरु सेतो पुलमा थिए । २८ वर्षीय छोरीलाई ट्याक्सीमै छोडे । बाबुले भने, ‘म मिस्त्री बोलाएर ल्याउँछु, तँ यही बस् ।’
छोरा लिएर हिँडेपछि कृष्ण नगरकोटीले कतै जङ्गलमा गएर आत्महत्या गर्न जान आग्रह गरे । गाडी भाडा र ब्लेड दिए । आफू पनि आत्महत्या गर्ने बताए । यसरी बाबुछोरा छुटि्टए ।
आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो ।