रास्वपाले भन्यो-‘सिरोहिया पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर, एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलिभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।’

सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रताको हननको रुपमा सञ्चार क्षेत्रका व्यक्तिलाई अर्थ्याइरहेका बेला रास्वपाले भने यसलाई अस्वीकार गरेको छ । अदालतबाट अनुमति लिएर र पर्याप्त आधारमा पक्राउ गरिनुलाई प्रेस स्वतन्त्रताको हनन नहुने रास्वपाले भनेको छ ।

‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्,’ विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here