१९ असोज, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानियातर्फ प्रस्थान गरेका छन् ।
सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तान्जानिया प्रस्थान गरेका हुन् । उनी सोही दिन राति ९ बजे कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगे । त्यसपछि राति २ः१० बजे कतार एयरवेजको उडानमार्फत तान्जानियाको किलिमान्जारो जाने कार्यक्रम छ ।
उनीसँगै प्रतिनिधिमण्डलमा धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका माननीय सदस्य रविन महत्तो, राष्ट्रिय सभाका माननीय सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन् । प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखज्यूका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन् ।
तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायतका कार्यक्रम सञ्चालन हुनेछन्।
