उद्योगी तथा लगानीकर्ताको हितका लागि प्रदेश २ जुनसुकै कदम उठाउन तयार

काठमाडौ,७ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ पुगेर उनले लगानीबिना समृद्धि सम्भव नभएकोले नयाँ लगानी आकर्षित गर्न तथा साविकका लगानीकर्ताको हित सुरक्ष गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

नयाँ लगानीका लागि कानूनी सुधार, कर सहुलियत तथा भूमि प्राप्तीलाई सहज बनाउन हरदम प्रयास भइरहेको पनि मुख्यमन्त्री राउतको भनाइ छ । साविकका उद्योगी तथा लगानीकर्ताहरुलाई भइरहेको दोहोरो कर तथा विद्युत महशुलमा रहेको अन्तरले परेको समस्या समाधानका लागि प्रदेश तहमा र संघिय सरकारको तहमा समेत पहल गर्ने प्रतिबद्धता उनले जनाए ।

प्रदेश २ ले उद्योगी तथा लगानीकर्ताहरुका लागि प्रदेशले चार प्रकारका विशेष सहुलियत तथा सहजीकरणको काम गरिरहेको छ – प्रादेशिक करमा २० वर्षे सहुलियत, भूमि प्राप्तीमा सहजीकरण, तीन घण्टा भित्रै उद्योग दर्ता र अन्य प्रक्रिया पुरा गरिदिने र उद्योगका लागि सुलभ दरमा विद्युत उपलब्ध गराउने ।

प्रदेश २ मा रहेका उद्योगले भोग्नु परेका समस्या समाधानमा कानूनी सहयोगका लागि पनि प्रदेश तम्तयार रहेको महान्याधिवक्ता दीपेन्द्र झाले बताए ।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले संघीय र प्रादेशिक दुवै तहमा सरकार र उद्योगी तथा लगानीकर्ता बीच विश्वासको वातावरण बनाउनु पर्ने समय आएको बताए ।

सरकारका तह र उद्योगी तथा लगानीकर्ता बीच विश्वासको संकट हुदा लगानी नभित्रिने र भएको लगानीको पनि पलायन हुने खतरा रहेकोमा उनले प्रदेश सरकारलाई सजग बनाए । प्रदेश २ को सिमरा बिरगंज कोरिडोर तथा विरगन्जमा रहेको आर्थिक हबलाई जोगाउन तथा विस्तार गर्न पनि समग्र लगानी वातावरणमा सुधार हुनु पर्ने मोरको भनाइ छ ।

विद्युत महशुलमा रहेको अन्तर कायम रहे औद्योगिक कोरिडोरमा रहेका उद्योग समेत बन्द हुन सक्ने भएकाले समस्या समाधानका लागि पहल लिन उद्योगीहरुले मुख्यमन्त्री राउतसंग आग्रह गरे ।

परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले विद्युत महशुलमा देखिएको समस्या समाधान नभए सिमरा बिरगंज कोरिडोरमा रहेका ठुला उद्योगहरु प्रतिस्पर्धी बन्न नसकी बन्द गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले हालै सम्पन्न पूर्वाधार सम्मेलनमा प्रदेशमा लगानी बढाउने उपाय स्वरुप प्रस्ताव गरिएको प्रादेशिक लगानी साझेदारी मञ्च निर्माणमा अग्रसरताको अपेक्षा गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here