विश्वकपमा नेपाली खेलाडीले प्रत्येक ५ रन हान्दा किसानले एउटा कफीको विरुवा पाउने

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरूलाई एकैसाथ जोड्ने उद्देश्यका साथ ‘पाँच रन बापत एक कफी बिरुवा’ अभियानको घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भइरहेको आइसीसी टी–२० वर्ल्डकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्ने भएको हो ।

सुपर कृषक एप नेपाली कृषकहरूको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो ।

घाम पावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हाल सम्म २०,००० बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ ।

अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा, एआईको माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू–उपग्रहको सहयोग बाट बालीको स्वास्थ्य, सिंचाइ, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि चिना साथै च्याटबटको माध्यम बाट किसानलाई सहजै कृषि बजार मूल्यम मौसम र विविध जानकारी दिने लगाएतका अन्य विविध सेवासुविधा सुपर कृषक एपले निशुल्क प्रदान गर्दै आइरहेको छ ।

सुपर कृषक एपले विगत लामो समयदेखि नै कृषि क्षेत्रमा कृषकहरूलाई प्रत्यक्ष लाभ हुने क्रियाकलाप गर्दै आएको छ । यसैलाई निरन्तरता दिंदै यो अभियान चलाइएको छ । यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए ।

कफी खेती नेपालमा एउटा सम्भावना बोकेको खेती व्यवसाय हो । साथै नेपालमा उत्पादित कफी अहिले विश्वबजारमा राम्रो ख्याती कमाइरहेको मौका छोपेर यो अभियान संचालन गरिएको छ । जसरी नेपाली खेलकुद क्षेत्रमा आफ्नो अलग पहिंचान बनाउँदै क्रिकेट खेल उदाई रहेको छ त्यस्तै गरी विश्व बजारमा पनि नेपाली कफीको माग बढ्दै गएको छ ।

साथै निर्यात गर्न सकिने कृषि उपजको रुपमा उदाइरहेको छ । यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टीमका प्रत्येक खेलाडीले गर्नु भएको रनले कुनै भूगोलका नेपाली सिमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्ने छ ।

यसरी भिन्न भिन्न क्षेत्रबाट देशलाई योगदान दिइरहेको क्रिकेट र कफी (कृषि)लाई जोड्ने संकल्पका साथ अभियान संचालन गरिनेछ।

अभियानको मुख्य उद्देश्य सीमान्तकृत किसानहरूलाई व्यवसायिक कफी खेतीमा संलग्न गराउने हो । क्रिकेट खेलाडीहरूले पिचमा गरेका रनहरूले किसानहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ । यसले दिगो रुपमा कृषकहरूको आम्दानी वृद्धि गर्दै, उनीहरूको आर्थिक स्थिति सुधार्न मद्दत पुग्ने अनुमान गरिएको छ ।

उक्त टी-२० क्रिकेट विश्वकप सम्पन्न भएपछि नेपालमा कफीको सम्भावना बोकेको र भौगोलिक र मौसमको हिसाबले उचित स्थान छनोट गरी किसानहरूलाई कफीका बिरुवा वितरण गरिने कुरा यस अभियानका आयोजक सुपर कृषकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here