काठमाडौंका विद्यार्थीले पाए २ अर्ब बढीको छात्रावृत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका ४७३ विद्यालय साढे १८ हजार विद्यार्थीलाई छात्रवृत्ति दिएका छन् । महानगरभित्रका भित्र संचालित ४७३ विद्यालयले पेश गरेको विवरण अनुसार शैक्षिक सत्र २०८० मा कुल १८ हजार ४२२ जनाले छात्रावृत्ति पाएका हुन् ।

कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यस वर्ष करिब २ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति पाएको बताए । उनले भनेका छन, ‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीहरूलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौं फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ ।’

महानगर भित्र संचालनमा रहेका ५०४ वटा निजी विद्यालयमध्ये ४७३ वटाले मात्रै छात्रवृत्तिको विवरण बुझाएको उनले बताए । हालसम्म विवरण नबुझएका विद्यालयहरुलाई ३ दिनभित्रै विवरण बुझाउन महानगरले अल्टिमेटम दिएको छ । सोभित्र विवरण नबुझाए कारबाही गरिने मेयर शाहले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने उनको भनाइ छ । ‘त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,’ मेयर शाहले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here