फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल, बालेन अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।

शुक्रबार भएको छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

प्रचण्डले भने, “तपाईहरूको फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।”

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो ।

छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित रहेका थिए । बालेनले पटकपटक सङ्घीय सरकारको आलोचना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here