दशैंमा उपभोक्तालाई भान्सा व्यवस्थापनमा चुनौति, १५ दिनमै तरकारीको मूल्य तेब्बर

काठमाडौं, ९ असोज । पछिल्लो समय तरकारी तथा हरिया सागसब्जीको मूल्य अत्याधिक मात्रामा बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो १५ दिनमा मात्रै ११ भन्दा धेरै तरकारीको मूल्य दोब्बर भएको छ । खासगरी हरिया तरकारीको मूल्यमा तीन गुणा वृद्धि भएको कालीमाटी तरकारी तथा फलफुल बजारको बिहीबारको मूल्यसूचीले देखाएको छ ।

प्याज, भन्टा, हरियो धनियाँ, बोडी, सिमी, खुर्सानी, साग, लौका तथा करेला जस्ता तरकारिको मूल्य १०० देखि २०० प्रतिशतले बढेको हो । तर, उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।

उता कालीमाटी तरकारी तथा फलफुल बजार विकास समिति भने तोकिएको मूल्यमा तरकारी तथा फलफुल किनबेच हुनुपर्ने बताउँछ । समितिका उपनिर्देशक विनय श्रेष्ठले प्रभावकारी अनुगमनको अभावमा तरकारीको मूल्य जथाभावी लिने गरेको बताए ।

यी हुन् दोब्बर मूल्यवृद्धि भएका तरकारी:

१. भेडे खुर्सानी

पछिल्लो १५ दिनमा मात्रै भेडे खुर्सानीको मूल्य २४५ प्रतिशतले वृद्धि भएको छ ।

भदौ २५ गते ४२ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको भेडे खुर्सानीको मूल्य बिहीबार १४५ रुपैयाँ कायम भएको छ ।

२. हरियो प्याज

हरियो प्याजको मूल्य पछिल्लो १५ दिनमा २०२ प्रतिशतले बढेको छ ।

१५ दिनअघि प्रतिकिलो ३८ रुपैयाँमा कारोबार भएको हरियो प्याजको मूल्य २०२ प्रतिशतले बढेर बिहीबार १ सय १५ रुपैयाँ पुगेको छ ।

३. हरियो धनियाँ

हरियो धनियाँको मूल्य पछिल्लो १५ दिनमा २०० प्रतिशतले वृद्धि भएको छ ।

भदौ २५ गते प्रतिकिलो १ सय ६५ रुपैयाँमा किनबेच भएको हरियो धनियाँको मूल्य ४ सय ९५ रुपैयाँ पुगेको हो ।

४. करेला

तिते करेलाले पनि उपभोक्ताको मन मीठो बनाउने छाँट ल्याएको छैन । यसको भाउ पछिल्लो १५ दिनमा १९७ प्रतिशतले वृद्धि भएको छ । तीते करेलाको मोल प्रतिकिलो ३३ रुपैयाँबाट बढेर ९८ रुपैयाँ पुगेको छ ।

५. पालू्ङ्गो साग

पालूङ्गो सागको मूल्य पछिल्लो १५ दिनमा १६३ प्रतिशतले वृद्धि भएको छ ।

भदौ २५ गते प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको पालूङ्गो सागको मूल्य बिहीबार १ सय ४५ रुपैयाँ कायम भएको छ ।

६. तने बोडी/मकै बोडी

तेने बोडी र मकै बोडीको मूल्य पछिल्लो १५ दिनमा समान १५८ प्रतिशतले वृद्धि भएको छ । यी कोसे तरकारीको मूल्य प्रतिकिलो ३८ रुपैयाँ बाट बढेर ९८ रुपैयाँ पुगेको छ ।

७. घिउ सिमी लोकल/हाईब्रिड

घिउ सिमीको मूल्य पछिल्लो १५ दिनमा १३३ प्रतिशतले बढेको छ ।

भदौ २५ गते प्रतिकिलो ४२ रुपैयाँमा कारोबार भएको घिउ सिमीको मूल्य उकालो लाग्दै ९८ रुपैयाँ पुगेको हो ।

८. लाम्चो भन्टा

यसवीचमा लाम्चो भन्टाको मूल्य १२४ प्रतिशतले उचालिएको छ ।

प्रतिकिलो ३८ रुपैयाँमा कारोबार भएको लाम्चो भन्टाको मूल्य बिहीबार ८५ रुपैयाँ पुगेको छ ।

९. लौका

लौकाको मूल्य १०७ प्रतिशतले वद्धि भएको छ ।

भदौ २५ गते प्रतिकिलो २८ रुपैयाँमा किनबेच भएको लौकाको मूल्य ५८ रुपैयाँ कायम भएको छ ।

१०. हरियो लसुन

हरियो लसुनको मूल्य पछिल्लो १५ दिनमा १०७ प्रतिशतले वृद्धि भएको छ ।

भदौ २५ गते प्रतिकिलो १ सय १५ रुपैयाँमा कारोबार भएको हरियो लसुनको मूल्य २ सय ३८ रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here