काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, आर्मी, प्रहरी र सशस्त्रको पम्पमा गाडीको ताँती

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प बन्द भएका छन् । ट्यांकर चालकहरूले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि डिजेल/पेट्रोल ढुवानी नहुँदा अधिकांश पम्पहरू बन्द भएका हुन् ।

उपत्यकामा आइतबारदेखि नै पेट्रोलियम पद्धार्थको अभाव हुन थालेको थियो । हिजो केही निजी पेट्रोल पम्पले पेट्रोलियम पद्धार्थ बिक्री वितरण गरे पनि सोमबार भने सरकारी बाहेक सबै पेट्रोल पम्प बन्द भएका छन् ।

निजी पम्प बन्द भएपछि नेपाल आर्मी, प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा सर्वसाधरणमो लामो लाइन लागेको छ । सवारीमा इन्धन भर्न घण्टौंसम्म लाइन लाग्नुपर्ने बाध्यता छ ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरेकाले पम्पहरूमा इन्धन अभाव देखिएको हो । थानकोट डिपोमा पेट्रोलियम पद्धार्थ भए पनि ट्यांकरहरूले ढुवानी नगर्दा पम्पहरूमा इन्धन पुग्न नसकेको हो । आन्दोलनरत चालकहरूलाई वार्तामा बोलाइएको निगमले जनाएको छ ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको थियो । शनिबार कालोपट्टी बाँधेर इन्धन ढुवानी गरेका चालकहरूले सोमबारदेखि ढुवानी नै ठप्प बनाएका हुन् ।

ट्याङ्कर चालहरूले सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, टेम्परेचरको सही व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।

त्यस्तै, सामाजिक सुरक्षा कोषमा आबद्धता गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई प्रत्येक तीन महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्रीवितरणमा अवरोध गर्न पाइन्न । तर, चालहरूले त्यसको वेवास्ता गर्दै ढुवानी ठप्प पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here