तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको १५ दिने ‘अल्टिमेटम’, स्थानीय आन्दोलित

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका–८ तिलगंगा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ ।

कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो ।

गुरुयोजना कार्यान्वयनका क्रममा तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगंगा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानूनबमोजिम कोष आफैंले हटाई खाली गराउने छ ।’

तिलगंगा क्षेत्रका झन्डै एक सय सङ्ख्यामा पक्की तथा कच्ची घर-टहरा हटाउन लागिएको कोषले जनाएको छ ।

यसैगरी, अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि विसं २०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो ।

त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here