बुढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन हुँदै

२६ असोज, काठमाडौं । बुढीगण्डकी तथा यसका सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ।

बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेवा), दोभान खोला (२४५ मेवा)। यारु खोला (३०.५९ मेवा) माछा खोला (१६ मेवा) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।

विद्युत् वितरण प्रणालीमा क्षति तथा सेवा अवरुद्ध

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ।

पछिल्लो तथ्यांक अनुसार भीमसेन थापा गाउँपालिका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको छ। आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। बाढीका कारण धार्चे गाउँपालिकाका प्रभावित बस्तीमा पुग्ने पहुँच सडक क्षतिग्रस्त भएकाले विद्युत् सेवा पुनः सञ्चालनमा चुनौती रहेको छ।

पहुँच सडक सञ्चालनमा आएलगत्तै अवरुद्ध विद्युत् सेवा शीघ्र पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्य अघि बढाइनेछ। प्रतिकूल परिस्थितिका बाबजुद प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्न सम्बन्धित निकायबाट आवश्यक पहल तथा प्रयास जारी रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।