आईएमई समूहले निर्माण गर्ने मध्य-कालीगण्डकीमा लगानी जुट्यो, नबिलको नेतृत्वमा ६ बैंकको ऋण

काठमाडौं । आइएमई समूहको सहायक कम्पनी हाइड्रो सपोर्ट प्रालि अघि बढाएको ६६.३ मेगावाट क्षमताको मध्य-कालीगण्डकी जलविद्युत् परियोजनाका लागि लगानी जुटेको छ ।

परियोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न ७ बैंक तथा वित्तीय संस्थाहरूले सहवित्तीयकरणमा ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आइएमई समूहको हाइड्रो सपोर्ट प्रालि र नबिल बैंकले ऋण लगानी सम्झौता गरेका छन् । सम्झौतापत्रमा हाइड्रो सपोर्टका तर्फबाट आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकहरूको तर्फबाट लिड गरिरहेको बैंक नबिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको यो परियोजनामा लागत अनुमान ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ रहेको छ । आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी)बाट लगानी जुटाइएको छ ।

त्यसमा निर्माण अवधिको ब्याजसहित बैंकहरूले ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले २/२ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको १/१ अर्ब रुपैयाँ रहनेछ । यसैगरी, एचआइडीसीएलले थप एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी कम्पनीलाई आशयपत्र पठाएको बताइएको छ ।

बाँकी ३ अर्ब ७० करोड ९९ लाख रुपैयाँ भने कम्पनीले स्वपूँजीका रूपमा लगानी गर्ने भएको छ । जुन इक्विटीमा आइएमई समूह र सर्वसाधारणको लगानी रहनेछ ।

आगामी अक्टोबरदेखि निर्माण सुरु हुने आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । हाल परियोजनाको निर्माणपूर्वका काम भइरहेका छन् ।

परियोजनामा ४.३ किलोमिटर सुरुङ निर्माण गरिने छ भने विद्युत्गृह भने भूमिगत हुनेछ । परियोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोडिनेछ ।

परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको छ । हिउँदयामको विद्युत् ८.४० रुपैयाँ र वर्षायामको विद्युत् ४.८० रुपैयाँमा बिक्री गरिनेछ । आयोजनाबाट वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन भई २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here