सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नारायणगढ, २३ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ः०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।

प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए । पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले बताए ।