भदौमै डीपीआर सकिने भनेको बेतन कर्णालीको अडिट टनेल निर्माणको टेण्डर नै असोजमा

काठमाडौं, १२ असोज । बेतन कर्णाली जलविद्युत आयोजनाको अडिट टनेल निर्माणका लागि प्रक्रिया शुरु भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम सक्ने काम गत भदौमै सक्ने भने पनि बेतन कर्णाली सञ्चयकोष जलविद्युत कम्पनी लिमिटेडले आइतबार टनेल निर्माणका लागि टेण्डर आह्वान गरेको हो ।

गत वर्ष चैतमा कम्पनीले आयोजनाको डीपीआर भदौसम्ममा सम्पन्न गर्ने बताएको थियो ।

डीपीआर निर्माणका क्रममा आवश्यक पर्ने अध्ययनका लागि आयोजनाको ड्याम साइटमा ३ र पावरहाउस साइटमा १ गरी चार टेस्ट अडिट बनाउनका लागि टेण्टर प्रक्रिया शुरु गरेको गोरखापत्रमा प्रकाशित सूचनामा कम्पनीले बताएको छ ।

नेपाल विद्युत प्राधिकरणअन्तर्गतको एनईए इञ्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको विस्तृत इञ्जिनियरिङ अध्ययन गरिरहेको छ ।

अछाम जिल्लाको ढकारी गाउँपालिका र सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा अवस्थित बेतन कर्णाली ६८८ मेगावाटको पिकिङ रन अफ द रिभर जलविद्युत परियोजना हो ।

आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले विगत तीन वर्षदेखि आफ्ना सञ्चयकर्ताहरुसँग रकम संकलन गरिरहेको छ । हालसम्म उसले साढे चार अर्ब रुपैयाँ भन्दा बढी संकलन गरिसकेको छ ।

कोषले आफ्ना सञ्चयकर्तालाई दिने नगद लाभांशलाई नै जलविद्युत आयोजनाको शेयरमा परिवर्तन गर्न भन्दै आएको छ । हाल कोषसँग ६ लाख भन्दा बढी सञ्चयकर्ता छन् जसबाट उसले करीब २१ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

करीब ७० अर्ब रुपैयाँ लगानीको सो आयोजनाको निर्माण डीपीआर तयार भएको पाँच वर्षभित्रमा सक्ने कोषको लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here