एक महिना भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा ४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट १ हजार ५८९, भुटानबाट १ हजार ६६, मलेसियाबाट १ हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here