घट्न थाल्यो उपत्यकाको चाप, २४ घण्टामै एक लाख ५६ हजार यात्रु बाहिरिए

काठमाडौं, १२ असोज । प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए ।

‘यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ’, प्रहरी उपरीक्षक पौडेलले भने ।

आज घटस्थापनासँगै उपत्यकामा स्कूल/कलेज बन्द भएकाले चापको समस्या कम हुने प्रहरीको अनुमान छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ ।

व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरु रहने गरेका छन् ।

उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको छ । बसपार्क विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ ।

मादक पदार्थ सेवन (मापसे) विरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने, ‘अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ । मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरु बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ’ ।

प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारवाहीमा पर्ने गरेको उनले बताए । ‘अब नागढुङ्गा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ’, महाशाखा प्रमुख ढकालले थपे ।

ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयम्सेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here