अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ।

सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।

उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन्।

रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन्। एक वर्षपछि उपसभामुख रानाले लेखेको पत्र विवादमा आउनुका केही कारण छन्।

पहिलो, उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन्। रातो पासपोर्ट बोक्ने व्यक्तिले निःशुल्क भिसा प्राप्त गर्छ भने अध्यागमनको प्रक्रियामा सहजताका साथै केही कूटनीतिक उन्मुक्ति प्राप्त गर्छ।

उपसभामुखलाई कुनै आधिकारिक भ्रमणको निम्तो आएको अवस्थामा उनलाई संघीय संसद सचिवालयले भ्रमणको प्रबन्ध मिलाउनेदेखि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने काम गर्छ। उनी सोही समयमा अमेरिका गएर फर्किएको बताइएको छ ।

तर सिएसडब्लुको कार्यक्रममा भने सहभागी नभएको उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिएकी छिन् । पत्रमा नाम भएका व्यक्ति आफूसँग अमेरिका नगएको समेत उनले बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here