एक वर्षमा ३ लाख भन्दा धेरै पर्यटकले घुमे सौराहा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएको राससले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख ६ हजार ८३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार ४१२ रहेको थियो।

निकुञ्जले यो संख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो। त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार ३१६ भित्रिएका थिए।

अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो। यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए।

यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार ८७२ भित्रिएका थिए। यो तथ्याङ्कलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन्। सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ।

निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ। तिवारीका गत आवमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व सङ्कलन भएको छ। अघिल्लो आवमा यो रकम २२ करोड ९३ लाख ९५ हजार ९५० थियो।

आव २०७८–७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व सङ्कलन भएको थियो। यसैगरी आव २०७७–७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार ३७६ राजस्व सङ्कलन भएको थियो। आव २०७६–७७ मा एक लाख ८२ हजार ४३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। सो आवमा १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१\३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो। त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार २९८ राजस्व सङ्कलन भएको थियो ।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताए।

भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उहाँले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताए। ‘निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्नुमा भरतपुर भ्रमण वर्ष पनि हो,’ उनले भने। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here