पेरिस ओलम्पिकको भब्य उद्घाटन, नेपाली खेलाडीको खेल कहिले ?

काठमाडौं । पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पहिलो पटक रंंगशालाबाहिर उद्घाटन कार्यक्रम आयोजना गरिएको हो । नेपालका खेलहरु आजैबाट सुरु हुँदैछन् ।

पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा आज सेनेगलका इब्राइम डियासँग भिड्दैछन् । पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् ।

६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नुपर्ने नियम छ । जसअनुसार उनले पहिलो खेल ५१औँ वरीयताका खेलाडी डियासँग खेल्न लागेका हुन् । प्रारम्भिक चरणको विजेता राउन्ड अफ ६४ मा प्रवेश गर्नेछन् ।

यसपटकको ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सहभागीमध्ये स्यान्टु मात्र छनोट जितेर ओलम्पिक खेल्ने खेलाडी हुन् । अन्य नेपाली खेलाडी अंकका आधारमा वाइल्ड कार्डका माध्यमबाट पेरिस ओलम्पिकमा छनोट भएका हुन् ।

स्यान्टु नेपालबाट छनोट जितेर ओलम्पिक खेल्ने तेस्रो र पहिलो टेबलटेनिस खेलाडी हुन् । सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी नेपालबाट तेक्वान्दो खेलाडीद्वय संगिना वैद्य र दीपक विष्टले सुरु ओलम्पिक छनोट पार गरेका थिए । सन् २००४ को एथेन्स र सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपकले छनोट चरणका माध्यमबाट स्थान सुरक्षित गरेका थिए ।
पेरिस ओलम्पिकको शनिबारै ब्याडमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘पी’मा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् । प्रिन्स विश्व ब्याडमिन्टन संघको वाइल्ड कार्ड कोटामा ओलम्पिकमा छनोट भएका हुन् ।

पहिलोपटक ओलम्पिक खेल्न लागेका उनी प्रशिक्षकविहीन छन् । नेपालबाट सहभागी अन्य खेलाडीका प्रशिक्षक छन् । तर, नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सम्बन्धित निकायलाई नबुझाउँदा प्रिन्स प्रशिक्षकविहीन बनेका हुन् ।

सुटिङकी सुस्मिताको खेल २८ जुलाईमा
वाइल्ड कार्ड प्राप्त गर्दै पहिलोपटक ओलम्पिकमा सहभागी सुटिङकी सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा २८ जुलाईमा छ । पहिलो दिन क्वालिफायरका खेल हुनेछन् । क्वालिफायर खेल पार गरेका खेलाडीले २९ जुलाईमा फाइनल चरण खेल्नेछन् ।

जुडोकी मनिताले २९ जुलाईमा प्रतिस्पर्धा गर्ने
जुडोकी मनिताले एसियाली कोटामार्फत पेरिस ओलम्पिकको स्थान पक्का गरेकी हुन् । उनले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनी पुल ‘ए’मा छिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्नेछिन् ।

एलेक्ज्यान्डर र डुवानाले ३० जुलाईमा खेल्ने
नेपालबाट पौडीतर्फ एलेक्ज्यान्डर र डुवानाले भाग लिँदै छन् । एलेक्ज्यान्डरको यो दोस्रोपटक ओलम्पिक खेल हो । डुवानाको भने पहिलो ओलम्पिक सहभागिता हुनेछ । दुवैले आ–आफ्नो पहिलो खेल ३० जुलाईमा खेल्नेछन् । पौडीको प्रतिस्पर्धा ओलम्पिक एक्वाटिक सेन्टर र पेरिस ला डिफेन्स एरेनामा हुनेछ । दुवै खेलाडी वैदेशिक प्रशिक्षणबाट सीधै पेरिस पुगेका छन् । एलेक्ज्यान्डरले पुरुष सय मिटर फ्रिस्टाइल र डुवानाले महिला दुई सय मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछन् ।

सन्तोषीले ३१ अगस्टमा प्रतिस्पर्धा गर्ने
नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषीले महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनको यो पहिलो ओलम्पिक सहभागिता हो । पेरिस ओलम्पिकको समापन अगस्ट ११ मा हुनेछ । त्यही दिन महिला म्याराथनको इभेन्ट राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here