थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्न पायो अनुमति

काठमाडौं । थाई एयर एसियाले थाइल्याण्डको बैंककबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको चार उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । थाई एयर एसियाले सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।

थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने भएको छ ।

५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो ।

नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्यांक छ । थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here