वीरगन्ज सुख्खा बन्दरगाहमा खाली कन्टेनरको झमेला, हटाउन पहल

काठमाडौं । कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ ।

समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

सो अवसरमा समितिका तर्फबाट रित्ता कन्टेनर फिर्ता लैजान र बन्दरगाह व्यवस्थित गर्न आग्रह गरिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कोरोना महामारीको समयमा रेलमा कार्गो भरिएर आउने तर रित्ता कन्टेनर नलैजाने गर्दा धेरै कन्टेनर बन्दरगाहमा थुप्रिएका थिए ।

कुनै समय १८–१९ सय कन्टेनर थुप्रिएकोमा अहिले रित्ता कन्टेनरको संख्या ११ सय २० वटा रहेको छ । जसमध्ये लिमिटेडका मात्र ५५१ वटा छन् । वीरगञ्ज सुक्खा बन्दरगाहमा ७ सय वटासम्म रित्ता कन्टेनर भने राख्ने गरिएको छ ।

यसो गर्दा कार्गो रेलले ल्याएका भरिभराउ कन्टेनर बन्दरगाहमा छाडी रित्ता कन्टेनर रेलमा पठाउने गरिन्छ । यसो गर्दा माल–सामान अनलोडमा लाग्ने समय कम भई काम छिटो हुन्छ ।

तर, आवश्यकताभन्दा दोब्बर कन्टेनर भरिँदा व्यवस्थापनमा समस्या भएको समितिले जनाएको छ । कन्टेनर फिर्ता लगेर सुख्खा बन्दरगाहमा कार्गो ह्यान्डलिङ सहज र व्यवस्थित गर्ने विषयमा समिति र लिमिटेडबीच सहमति भएको समेत समितिले जनाएको छ ।

वीरगञ्जमा रहेका दुई बन्दरगाहमध्ये सुक्खा बन्दरगाहमा कार्गो रेलमार्फत मालसामान ल्याउने गरिन्छ । एकीकृत जाँच चौकीबाट भने मालबाहक सवारीसाधन मार्फत सामान आउने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here