८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुछ्रे बैंकको नेतृत्वमा छ बैंकले लगानी गर्ने

काठमाडाै‌ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् ।

रु १६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात रु १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्द्धक कम्पनी र अन्य प्रवर्द्धक लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रोले जनाएको छ ।

आयोजनामा ग्लोवल आइएइ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंकसमेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकास प्रा.लि. द्धारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना नेपालको सबैभन्दा धेरै उचाइ भएको आयोजना हो ।

उक्त आयोजनाको हेडवक्सदेखि विद्युत गृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने अन्नपुर्ण विद्युत विकासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here