टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४८ रनको अविजित इनिङ खेले ।

दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे । ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए । नेपाल त्रिकोणात्मक टी२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here