भूकम्प पछिको पुनर्निर्माणमा साउदी फण्डको ३ अर्ब ४० करोड सहयोग

काठमाडौं, २४ असोज । साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि बोल्दै अर्थसचिव डा.खनालले मानवीय उद्देश्यका लागि साउदी अरेबियाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोगले भूकम्पपीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गरे ।

उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यात गर्ने मुलुकहरुको सदस्यका रुपमा पनि साउदीले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र फण्डका उपाध्यक्ष डा.अल्खुडायरीबीच छलफल

अर्थमन्त्रालयमा वित्तीय सम्झौता हुनुअघि फण्डका उपाध्यक्ष डा.अल्खुडायरी नेतृत्वको प्रतिनिधिमण्डले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितका अधिकारीहरुसँग छलफल गरेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणमा रहेको वित्तीय खाडलको पूर्ति गर्न साउदी फण्डले गरेको सहयोगका लागि धन्यवाद दिए ।

उनले पुनर्निर्माणमा विभिन्न मित्रराष्ट्र एवं विकास साझेदारहरुको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै साउदी फण्डको सहयोगको उचित सदुपयोग हुने बताए ।

छलफलका क्रममा फण्डका उपाध्यक्ष अल्खुडायरीले पुनर्निर्माणको पछिल्लो अवस्था, यसका चुनौती र सिकाइबारे जिज्ञासा राखेका थिए ।

डा.अल्खुडायरीले नेपालको पुनर्निर्माणको हिस्सा बन्न पाएकोमा खुशी प्रकट गर्दै नेपालको पुनर्निर्माणको सिकाइ विश्वका अन्य भागलाई पनि अनुकरणीय हुने विश्वास व्यक्त गरे ।

छलफलमा प्राधिकरणका सचिव शिवहरि शर्मा, प्राधिकरणका सहसचिवद्वय पिताम्बर घिमिरे, भरत अर्याललगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here