सिको पहिलो भेटवार्ता राष्ट्रपति भण्डारीसँग, देउवासँग पनि आजै भेट्ने

चीन भ्रमणका बेला राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सि जिनपिङसँग (फाइल तस्वीर । स्रोतः चाइना डेली)

काठमाडौं, २५ असोज । दुई दिने औपचारिक नेपाल भ्रमणमा आज काठमाडौं आउँने जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङले पहिलो भेटवार्ता राष्ट्रप्रमुख विद्यादेवी भण्डारीसँग गर्ने भएका छन् ।

भारतको चेन्नइबाट काठमाडौं आउने राष्ट्रपति सि अपरान्ह ४ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

उनको सम्मानमा सोल्टी होेटलमा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी छिन् । त्यसअघि दुई राष्ट्रप्रमुखवीच द्विपक्षीय भेटवार्ता हुने छ । सो भेटमा उनीहरुवीच द्विपक्षीय हीतका विषयमा वार्ता हुने छ ।

राष्ट्रपति सिले रात्रीभोज अगाडि नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग सोल्टी होटलमै भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सिले आइतबार बिहान भेट गर्ने छन् । प्रधानमन्त्री ओलीसँगको दुई पक्षीय वार्तासँगै नेपाल र चीनवीच विभिन्न सम्झौता हुने कार्यक्रम छ ।

नेपालले रेलमार्ग तथा सडक विकास, जलविद्युत आयोजना, सञ्चार प्रविधि, सुरुङ मार्ग जस्ता विषयमा चिनियाँ सहयोग खोजेको छ । तीनै विषयमध्ये केहीमा सम्झौता हुनसक्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

सिको भ्रमण २३ वर्षअघि तत्कालीन राष्ट्रपति जियाङ जेमिनपछिको पहिलो राष्ट्रपतिस्तरको भ्रमण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here