अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।

सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।

ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’

नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ ।

प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् । यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ ।

अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here