काठमाडौं । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो सडक विपी राजमार्ग १४ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ । ११ र १२ असोजमा आएको बाढी–पहिरोले पूर्णरुपमा अवरुद्ध राजमार्ग नेपाली सेना, अन्य सुरक्षा निकाय, सडक विभाग र पालिकाको निरन्तरको पहलमा शुक्रबारबाट एकतर्फी सञ्चालनमा आएको छ ।
राजमार्ग अन्तर्गत काभ्रेको रोशी ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाइएको छ । असोजको दोस्रो साता बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्याएको थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो ।
धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सुविधा हुने भएको हो । राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरिएको छ ।
रोशी खोलाको बाढीले चौकीडाँडादेखि काभ्रेको सिमानासम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा ८ किलोमिटर सडक पूर्णरुपमा क्षति गराएको थियो ।
राजमार्ग अन्तरगतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोट बेशीमा दुई सय मिटर, चार सय बेसीमा पाँच सय मिटर, गिम्दीबेशीमा तीन सय मिटर, खार्पाचोक बेशीमा तीन सय मिटर, नार्केमा आठ सय मिटर सडक ध्वस्त भएको थियो ।
यसैगरी पिन्थलीबेशीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर, चिउरीबासमा दुईसय मिटर, भ्याकुरेखोला कालढुङ्गामा एक किलोमिटर, डालाबेशीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, बर्खेखोला तीन सय मिटर, चालिसेमा चार सय मिटर र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । यी ठाउँहरुमा डाइभर्सन गरिए्को छ ।





















