कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

GETTY IMAGES

काठमाडौं । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो” र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ।

आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन्। ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

बहालवाला उपराष्ट्रपति समेत रहेकी ह्यारिसले आफ्ना “रिपब्लिकन प्रतिद्वन्द्वीले उनी राष्ट्रपति हुनका निम्ति स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी जनताले थाहा पाऊन् भन्ने नचाहेको” दाबी समेत गरेकी छन्।

ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक नगरेको उनको चुनावी अभियान समूहले उनको स्वास्थ्य “एकदम ठीक” रहेको भनेर चिकित्सकले जानकारी गराएको प्रतिक्रिया दिएको छ।

अभियान समूहले रिपब्लिकन उम्मेदवार “अति व्यस्त तथा चुनावी प्रचारप्रसारमा सक्रिय” रहेका बताउँदै ह्यारिससँग “ट्रम्पको जस्तो इच्छाशक्ति नरहेको” दाबी गरेको छ। ह्वाइट हाउसले राष्ट्रपतिको पद सम्हाल्न उपराष्ट्रपति ह्यारिसको “शारीरिक र मानसिक स्वास्थ्य उपयुक्त रहेको” भन्ने स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि दुई पक्षबीच आरोपप्रत्यारोप शुरू भएको हो।

विगत तीन वर्षदेखि ह्यारिसका फिजिसियन रहेका अमेरिकी कर्नेल डा. जोशुआ सिमोन्सका अनुसार गत एप्रिलमा हेर्दा उनको स्वास्थ्य अवस्था “सामान्य” देखिएको थियो। ह्यारिसले स्वस्थकर र सक्रिय जीवनशैली अपनाउँदै आएकी पनि सिमोन्सले बताएका थिए।

ह्यारिसको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिएपछि उनको चुनावी अभियान समूहका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन्स् “अब तपाईँको पालो, डोनल्ड ट्रम्प।”

हाल ७८ वर्षमा रहेका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन्। चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडनबारे रिपब्लिकनहरूले पनि सोही प्रकृतिको आलोचना गर्दै आएका थिए।

राष्ट्रिय जनमत सर्वेक्षणहरूले ह्यारिस ट्रम्पभन्दा झिनो मत अन्तरले अगाडि रहेको देखाएका छन्। नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आउँदो महिनामा निर्वाचन हुँदै छ।

लगभग २४ करोड अमेरिकी यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवतः उनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ।

औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार ह्यारिस वा रिपब्लिकन ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ। तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here