बाढीपछि त्रिशूलीमा पुनः सुरु भयो र्‍याफ्टिङ

काठमाडौँ। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रोकिएको साहसिक जलयात्रा (र्‍याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

बाढीका कारण नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षालाई ध्यानमा राख्दै केही समय र्‍याफ्टिङ सेवा रोकिएको थियो। नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि जलपर्यटन व्यवसायीहरूले सेवा पुनः सञ्चालनमा ल्याएका हुन्।

र्‍याफ्टिङ सञ्चालन गर्नुअघि जलयात्रा विज्ञ, अनुभवी गाइड तथा प्राविधिकहरूको टोलीले त्रिशूली नदीका प्रमुख र्‍याफ्टिङ रुटको स्थलगत अनुगमन तथा अध्ययन गरेको थियो।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा) ले नदीको वर्तमान अवस्था, बहाव, धार तथा र्‍याफ्टिङ रुटमा आएको परिवर्तनबारे स्थलगत निरीक्षण गरेपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपछि नदीका केही स्थानमा नयाँ ‘र्‍यापिड्स’ बनेका छन् भने केही पुराना धार परिवर्तन भएका छन्। तर अहिलेको बहाव र नदीको अवस्था र्‍याफ्टिङका लागि अनुकूल र सुरक्षित रहेको विज्ञहरूले बताएका छन्।

नाराका अध्यक्ष कमल ठकुरीले त्रिशूली नदीमा पटक-पटक अध्ययन तथा निरीक्षण गरेपछि र्‍याफ्टिङ पुनः सञ्चालन गरिएको बताए। उनका अनुसार बाढीपछि पनि त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्न जोखिमपूर्ण अवस्था छैन।

“त्रिशूली नदीको गल्छीदेखि मुग्लिङसम्म खोलाको धारमा खासै परिवर्तन भएको छैन। त्यसैले ढुक्क भएर र्‍याफ्टिङ गर्न सकिन्छ,” उनले भने, “खोला एकदम सफा र क्लिन छ। हामीले अपनाउनुपर्ने सबै सेफ्टी प्रोटोकल अपनाएका छौं। बच्चादेखि वृद्धसम्म सबैले आएर मज्जाले र्‍याफ्टिङ गर्न सक्नुहुन्छ। नदी एकदमै सुरक्षित छ।”

नाराका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले अहिलेको पानीको स्तर र बहावको गति साहसिक खेलप्रेमीका लागि अझ उत्कृष्ट र रोमाञ्चक बनेको बताए।

“अबदेखि त्रिशूली नदीमा व्यावसायिक रूपमा जुनसुकै कम्पनीले पनि र्‍याफ्टिङ गर्न सक्छन्। हामीले रेकी ट्रिप गरेका थियौं। त्यसमा पूर्ण रूपमा सुरक्षित देखिएपछि व्यावसायिक रूपमा र्‍याफ्टिङ सुरु गर्ने निर्णय गरेका हौं,” उनले भने।

नाराका कोषाध्यक्ष हितमान गुरुङले त्रिशूली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीहरूलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।

“बाढीपछि रोकिएको र्‍याफ्टिङ व्यवसायलाई पुनः नियमित बनाउन सके यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित व्यवसायीलाई राहत पुग्ने विश्वास छ,” उनले भने।

उनका अनुसार काठमाडौंबाट चितवन, पोखरा र लुम्बिनी जाने विदेशी तथा नेपाली पर्यटकले त्रिशूलीमा र्‍याफ्टिङ गरेर यात्रा गर्न सक्छन्।

रिभर साइड स्पा एन्ड रिट्रिट तथा त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले र्‍याफ्टिङ सञ्चालनमा आएसँगै त्रिशूली नदीमा आधारित पर्यटन व्यवसाय पुनः लयमा फर्किने विश्वास व्यक्त गरे।

“भदौ १० गते आएको बाढीपछि अहिलेसम्म पर्यटकको आगमन निकै कम थियो। यहाँ सञ्चालित अधिकांश पर्यटन व्यवसाय त्रिशूली नदीमा नै आधारित छन्। बाढीपछि यहाँको पर्यटन सुस्ताएको थियो। अब र्‍याफ्टिङ सुरु भएको छ। त्यसपछि पर्यटन पनि चलायमान हुन्छ भन्ने विश्वास लिएका छौं,” कँडेलले भने।

नाराले त्रिशूली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीहरूलाई आवश्यक सावधानी अपनाउँदै सेवा पुनः सुरु गर्न आग्रह गरेको छ। लामो समयसम्म सेवा रोकिँदा व्यवसायी तथा यसमा निर्भर श्रमिकमा परेको असर कम गर्न र पर्यटन गतिविधिलाई पुनः चलायमान बनाउन र्‍याफ्टिङ सञ्चालन महत्वपूर्ण हुने नाराको भनाइ छ।