वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम ७ बाट १० लाख पुग्यो

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम तीन लाखले बढेको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याएको हो ।

यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १८ असोजमा मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेको छ । यससँगै आर्थिक सहायता रकम वृद्धि भएको छ ।

वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो । पछि रकम वृद्धिबारे अध्ययन गर्न श्रम मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिले राहत रकम निर्धारण गरिने निर्णय गरेको थियो । पछि पूर्व श्रममन्त्री डीपी अर्यालले पनि राहत रकम वृद्धि गर्ने योजनालाई अघि बढाएका थिए ।

वैदेशिक रोजगारीमा गएर विभिन्न क्रममा मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरुले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतवापत् प्राप्त गर्दै आएका छन् ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ ।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ । जस अनुसार खाडी तथा मलेशिया जाने श्रमिकहरुले कोषमा १५०० र जापान, कोरिया, लगायतका मुलुकहरुमा जादा २५०० रुपैयाँ जम्मा गर्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले श्रम स्वीकृति लिएको र त्यसअवधिभित्र मृत्यु भएका श्रमिकहरुको हकमामात्र मृतक परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । श्रम स्वीकृति बेगर र म्याद सकिएको अवस्थामा पुगेका श्रमिकहरुको हकमा भने परिवारले क्षतिपूर्ति पाउँदैनन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो तीन आर्थिक वर्षमात्र ३ हजार ८ सय श्रमिकको ज्यान गएको छ । प्रत्येक वर्ष वार्षिक एक हजारको श्रमिकले ज्यान गुमाएका छन् ।

बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८–०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९–०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०–०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाएका छन् ।

मृत्युको यो ग्राफ हरेक वर्ष उक्लिरहेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको सडक दुर्घटना, हृदयघात, आत्महत्या, कार्यस्थल दुर्घटना र प्राकृतिक मृत्यु लगायतका विभिन्न कारणबाट श्रमिकहरुको ज्यान जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here